३२ हजार सरकारी कर्मचारीको जागिर एकैपटक टुट्यो
काठमाडौ । करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत कर्मचारीले मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर गर्न पाएनन् । सरकारी कार्यालयले औपचारिक रूपमा निष्कासनको निर्णय नगरे पनि उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरेका थिए । यही सुचनाका आधारमा उनीहरुले हाजिर गर्न पाएनन् । सरकारले नयाँ आर्थिक वर्षदेखि करार र ज्यालादारी कर्मचारीको म्याद थप गर्न नसक्ने जनाएपछि देशभरका झन्डै ३२ हजार कर्मचारी प्रभावित भएका छन् । त्यस्ता कर्मचारीको संख्या काठमाडौंमा मात्र करिब १३ हजार छ ।
संघ (केन्द्र) देखि जिल्ला र स्थानीय तहसम्मका कार्यालय खारेज र मर्ज भएपछि फाजिलमा परेका करार र ज्यालादारी कर्मचारीलाई हाजिर गराउन नसकिने जानकारी यसअघि नै दिइसकिएको छ । करार र ज्यालादारी कर्मचारीको छाता संगठन अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले हाजिर नगराए आन्दोलन गर्ने घोषणा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले भने सम्बन्धित कार्यालयले नै नाम काटेर पठाएकाले थप्न नमिल्ने जिकिर गर्ने गरेको छ ।
Comments
Post a Comment